×

बाँदरले बिथोलेको ग्रामीण अर्थतन्त्र

images

डेढ दशकअघि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धनप्राप्त क्यासकेड विधिमा आधारित तालिम प्रशिक्षक तालिमताका समुदायमा छलफलका माध्यमबाट मुख्य समस्या पहिचान गरी समाधानको उपायसहित शोधपत्र प्रस्तुत गर्नु थियो ।

जब समुदायमा छलफल सुरु गरियो, तब सबैले बाँदरको समस्या प्रमुख देखाउँदा यसको समाधानको ठोस उपाय निकाल्न नसक्दा अर्कै विषयमा प्रवेश गर्नुपर्ने बाध्यता भयो । त्यसको लगभग १९ वर्षपछि पुग्दा पनि सो ठाउँमा पुग्दा ती समस्या ज्युँकात्युँ रहेको र बढ्दो बाँदर आतंकले कतिपयले बसाइँ सरेको र कृषिकर्म छोडी अन्य काममा लागेको पाइयो । बादँरले साँच्चि नै दुःख दिँदा कृषिकर्मबाट जीविका धान्न समस्या भएको थियो । बाँदरले किसानले दुःख गरेर लगाएको अन्नबाली फलफूल सबै नष्ट गरेर घरमा समेत विनाश गरेको समस्या दिनप्रतिदिन बढ्दै गएको गुनासो उहाँहरूको थियो ।

बाँदरले ग्रामीण अर्थतन्त्रसहित समग्र अर्थतन्त्रमा खडा गरेको चुनौती : नेपालमा लगभग ६० प्रतिशत जनसंख्या कृषिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आश्रित रहेको पाइन्छ  । विडम्बना, यसबाट उत्पादन लागतको तुलनामा प्रतिफल अत्यन्त कम रहेका कारण कृषि पेसामा नयाँ पुस्ताको आकर्षण अत्यन्तै कम छ । कृषिमा आश्रित जनसंख्या ६० प्रतिशतको अनुपातमा रहे पनि त्यसको कुल ग्रार्हस्थ्य उत्पादनमा योगदानको मात्रा भने बर्सेनि घट्दै गएको पाइन्छ । 

कृषिमा व्यवसायीकरण नहुनु, प्रविधि, रासायनिक मल तथा उन्नत बिउ तथा बजारको अभाव आदि चुनौतीलाई मुख्य रूपमा औँल्याइएको छ । तर, ग्रामीण तहमा भने योभन्दा चर्को समस्या बाँदरको छ । बाँदरले ग्रामीण तहमा कृषिकर्म गरिरहेकालाई जीविकोपार्जन गर्न ठूलो समस्या पारेको छ । कृषि व्यावसायिक पेसाका रूपमा नभई बाध्यतात्मक पेसा बनेको छ । यसबाट कि त बसाइँसराइ गर्नुपर्ने, कि खेती छाडेर अरू काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

जनगणना २०७८ को नतिजा हेर्दा ग्रामीण जनसंख्याको ठूलो अंश घटी सहरको जनसंख्या बढ्नुमा बाँदर पनि एक कारण रहेको छ । हालै प्रकाशित आर्थिक सर्वेक्षण ०७९/८० अनुसार आव ०७५/७६ र आव ०७८/७९ को तथ्यांक तुलना गर्दा बैंक तथा वित्तीय संस्थाको कृषिमा १०० प्रतिशत बढी ऋण लगानी वृद्धि, कृषिमा अनुदानलगायत धेरै किसिमका कार्यक्रम भए पनि कृषिजन्य वस्तुको पैठारी (आयात) भने १६० प्रतिशतले बढेको छ । उत्पादशील भूमि हाल बाँझो हुने क्रम बढेको छ । जसका कारण उत्पादन कम भएर खाद्यान्नको आयातका साथसाथै व्यापार घाटासमेत बढेको छ । यस्तै विदेशी मुद्रा सञ्चिति पनि घटेको छ, जसले गर्दा अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।

नेपालमा जसरी माओवादी द्वन्द्वकालमा ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसोवास सर्नेको संख्या उल्लेख्य बढेको थियो, त्यसैगरी बाँदरका कारणले कृषिकर्मबाट विस्थापित भई सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या पनि उल्लेख्य बढेको छ । देशका सबै भेगका किसान बाँदरले खेतीपातीमा गरेको नोक्सानबाट अत्यन्त प्रभावित छन् । 

बाँदरसम्बन्धी कानुनी व्यवस्था :  नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ (पाँचौँ संशोधन २०७३) अन्तर्गत दफा १० मा संरक्षित वन्यजन्तुको बारेमा उल्लेख गरिएको छ । सोही ऐनको अनुसूची १ मा दफा १० अनुसार आसामी रातो बाँदरलाई संरक्षित जनावरको सूचीमा राखिएको छ  ।

कृषिमा व्यवसायीकरण नहुनु, प्रविधि, रासायनिक मल तथा उन्नत बिउ तथा बजारको अभाव आदि चुनौतीलाई मुख्य रूपमा औँल्याइएको छ । तर, ग्रामीण तहमा भने योभन्दा चर्को समस्या बाँदरको छ ।

अनुसूचीमा उल्लेख भएका जनावरको सिकार गर्न पाइँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार मान्छे वा पशुपन्छीलाई नोक्सान गर्ने अवस्थामा मात्र तोकिएको अधिकारीको आदेशले पक्रन वा मार्न पाइन्छ । यस ऐनमा वन्यजन्तुबाट कृषिबाली तथा उपज कृषि उद्योगको नोक्सानको विषयमा नोक्सान गर्ने जन्तुको समाधानको बारेमा स्पष्ट केही उल्लेख भएको छैन ।

सोही ऐनको दफा २६ मा दण्ड सजायअन्तर्गत गैरकानुनी तरिकाले संरक्षित जनावरको आखेटोपहार राख्ने खरिद–बिक्री गर्ने तथा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा ५ देखि २५ वर्षसम्म कैद वा दुवै हुने कुरा उल्लेख रहेकाले स्थानीय कृषक बाँदरलाई केही गर्न सक्ने अवस्थामा छैनन् । नेपालले हस्ताक्षर गरेको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय महासन्धि साइटिस महासन्धिको अनुसूची १ मा संकट उत्पन्न जन्तुको सूचीमा बाँदर पनि परेका कारणले यसलाई मार्नबाट बन्देज गरिएको छ ।

के बाँदरका फाइदा पनि छन् ?
१.    पारिस्थितिक प्रणालीमा बाँदरले जंगलका फलफूल खाने हुनाले यत्रतत्र बिउ छराएर फैलाउन मद्दत गर्छ । फूलको परागसेचनमा मद्दत गर्छ ।
२. औषधि परीक्षण गर्न, केही नयाँ औषधि     बजारमा ल्याउँदा त्यसको परीक्षण भने पहिला बाँदरमा गरिन्छ । यदि सो सफल भयो भने मात्र मानिसमा प्रयोग गरिन्छ ।
३. अनुसन्धानमूलक काम (औषधिबाहेक अन्य वैज्ञानिक अनुसन्धानमूलक काम)मा पनि यसको उपयोग गरिन्छ ।
४. सर्कस तथा चिडियाखानामा पनि यसको प्रयोग गरिन्छ ।
५. कतिपय मुलुकले यसलाई शिक्षण विधिका रूपमा पनि प्रयोग गरेको पाइन्छ ।

बाँदर साँच्चिकै समस्या हो त ? :  मैले जुन समस्या ग्रामीण कृषकहरूको मुख्य समस्याको रूपमा २० वर्षअगाडि पत्ता लगाएको थिएँ, अहिले हेर्दा त त्यो झन् विकराल रूपमा बढेर गएको पाएँ  । ०७८ को जनगणनाको परिणाममा ग्रामीण भेगको संख्या घट्नुमा त्यहाँका बासिन्दा, कृषकलाई बसाइँ सर्न बाध्य पार्ने कृषि पेसाप्रति वितृष्णा जगाउने यही नै कारक तत्व बनेको पाएको छु । हामीकहाँ अध्ययन अनुसन्धानको कमी छ ।

बाँदरलाई विभिन्न शोधको निम्ति प्रयोगशालामा प्रयोग गर्न ठुल्ठूला अनुसन्धान कम्पनी हामीकहाँ छैनन् । औषधि निर्माता पनि छैनन् । व्यावसायिक प्रयोजनका निम्ति यसको उपयोग खासै नभएको र अत्यधिक मात्रमा यसको संख्या बढेकाले ग्रामीण भेगका कृषकहरूको भने यो टाउको दुखाइको विषय बनेको छ  । बाँदरले दिने दुःख जटिल समस्या बनेको छ  ।

बाँदर नियन्त्रणसम्बन्धी भएका पहल : बाँदर नियन्त्रणसम्बन्धी नेपालमा पहल नभएका भने होइनन् । तर, कुनै पनि कदम प्रभावकारी हुन सकेनन् । नेपालको कानुनी प्रावधानले बाँदर, बँदेललगायतका वन्यजन्तुलाई संरक्षण गर्नुपर्छ भनेकाले उपयुक्त कदम चाल्न बाधा पुगेको देखिन्छ । बाँदरको सम्बन्धमा कुनै पनि निकाय संवेदनशील नहुँदा त्यसको प्रत्यक्ष प्रभाव भने सर्वसाधारण तथा ग्रामीण दूरदराजमा किसान तथा खेतिपाती पशुपालनमा आश्रित निम्नमध्यमवर्गमा परेको छ ।

यसले व्यापारी, प्रशासकीय वर्ग, नेता तथा उच्च नेतृत्वलाई प्रत्यक्ष असर नपरेको कारणले पनि यो प्रथामिकतामा नपरेको होला भन्ने धेरैको ठम्याइ छ । विदेशी वस्तु आयातमा रमाउनेहरूले कृषकको समस्यामा ध्यान दिने र समस्या समाधान गर्ने कुरामा कृषकले कुनै विश्वास गरेका छैनन् । 

नेपालमा नयाँ संविधान जारी भएपश्चात् संघीयताको अभ्याससँगै केही स्थानीय निकायले बाँदरको समस्या समाधानका निम्ति बजेट विनियोजन पनि नगरेका भने होइनन् । तर, त्यो खर्च भए पनि विद्यमान कानुनको कारण कुनै पनि प्रभावकारी हुन सकेन । 

बाँदरलाइ तालिमप्राप्त मान्छे ल्याएर समात्न लगाउने, खोर बनाउने,बन्दुक पड्काउनेजस्ता काम गरे पनि त्यसले मानिसलाई उत्तिकै दुःख दिएको छ  । महिला, वृद्धा, बालबलिकालाई आक्रमणसमेत गरेको पाइन्छ । कुनै प्रभावकारी उपाय हालसम्म पनि भेट्टाउन सकिएको छैन ।

ग्रामीण क्षेत्रमा बाँदरको प्रभाव कम गर्न सकिने केही उपाय
. जंगलको नजिक खेतबारी छ भने त्यस्ता ठाउँमा अन्नबाली लगाउनुको सट्टा डालेघाँसका बिरुवा हुर्काउनेमा जोड दिई पशुपालनलाई अगाडि बढाउन सकिन्छ ।
. खेतबारीमा यदि अनावश्यक बिरुवा उम्रेका रहेका छन् वा अग्ला रूख छन् भने त्यसलाई हटाउने र झाडी सफा गर्ने गर्नुपर्छ । कारण त्यसमा बाँदर लुक्न सक्ने, बस्ने सम्भावना हुन्छ ।
३. बाँदरले विनाश गर्न नसक्ने बाली लगाउने जस्तो– पिँडालु, खुर्सानी, कागती आदि । 
. बाँदर समात्न तालिमप्राप्त मान्छे ल्याई घना जंगलमा लगेर छोड्ने ।
५. बाँदर भगाउन बन्दुक, बारुद, पटाका पड्काउने ।
६. तालिमप्राप्त कुकुर पाल्ने ।
. सबै खेतबारीधनीले पालैपालो बाँदर लखेट्ने।
८. जग्गा खेतबारीको छेउमा मान्छेको पुत्ला वा बाँदर तर्सने जन्तुहरूको पुतला बनाइराख्ने  ।
९० मोलासेस घाँस रोप्ने, जसको गन्धले र 
च्यापच्याप लाग्ने हुँदा बाँदर त्यो क्षेत्रमा आउन मन पराउँदैन ।
१०. समूहको एउटा बाँदरलाई समातेर विभिन्न रङ लगाई टाटेपांग्रे पारेर छोडिदिँदा अरु बाँदर तर्सेर भाग्छन् ।
११. बाँदर आउने ठाउँमा सिद्रा माछाको धुलो पोको पारेर राख्ने र बाँदर कौतूहल प्राणी पनि भएको र खोलेर हेर्दा त्यसको गन्धले फेरि सो ठाउँमा नआउने भनेर भन्ने गरिएको छ ।

तर, बाँदरको समस्याबाट दीर्घकालीन समाधानको उपाय के हुन सक्छ, यसतर्फ सबैले ध्यान दिनुपर्ने देखिन्छ । माथिका उपायमार्फत बाँदरको नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ, तर अहिलेको प्रयोगले यो सबै क्षणिक मात्र भएको देखिएको छ । त्यसैले बाँदरसम्बन्धी बाध्यकारी कानुनलाई खारेज गरी वा उपयुक्त ढंगले संशोधन गरी त्यसतर्फ अविलम्ब कदम चाल्नुपर्ने देखिन्छ ।

साभार:www.nayapatrikadaily.com

बुधबार २४ जेठ २०८० ०४:२५ AM मा प्रकाशित

प्रतिक्रिया