काठमाडौं : विज्ञ भन्छन्, ‘यदि मौरी नहुँदो हो त पृथ्वीमा खेती सप्रँदैन। खाद्यान्न तथा फलफूल उत्पादन हुँदैन।’खाद्य तथा फलफूल उत्पादन र जैविक विविधताको संवद्र्धनमा मुख्य भूमिका नै मौरीको हुने भएकाले यसलाई प्रकृतिको अनुपम वरदान मानिन्छ। तर, पछिल्लो समय त्यहीँ मैरी संकटमा पर्न थालेको छ। कारण– विषादीको बढ्दो प्रयोग र सुलसुले (माइट रोग) को संक्रमण।
यस्तै समस्या भोगेका रामेछापका नारायणप्रसाद दाहाल केही दिनअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पुगे र वैज्ञानिकलाई भेट्दै भने, ‘मौरीमा केही संक्रमण फैलिएजस्तो छ। घामा किरा सल्बलाउन थालेका छन्।’ नार्कका वरिष्ठ वैज्ञानिक (एस–२) विष्णु न्यौपानेले उनलाई घारमा देखिएका किरा नमार्न सुझाव दिँदै अनुसन्धान गरिने बताए।
वैज्ञानिक न्यौपानेका अनुसार अहिले मौरीको शत्रु किरा सुलसुलेको समस्या बढेको छ। यसको संक्रमणका कारण मौरीले राम्ररी काम गर्न सक्दैन। अशक्त बन्छ। अनि, विस्तारै घार नै रित्तिने अवस्थामा पुग्छ। तर, मौरीपालक किसान दाहालको घारमा देखिएको किरा भने सुलसुलेलाई नै खाने किसिमको भएकाले मार्न नहुने वैज्ञानिक न्यौपानेले बताए।
विषादीको बढ्दो प्रयोगको चपेटामा परेको मौरी फेरि सुलसुलेको आक्रमणमा पर्न थालेपछि अहिले नार्कले अध्ययन सुरु गरेको छ। ‘मौरीको चरण पात्रो निर्माण तथा मौरीमा लाग्ने सुलसुले व्यवस्थापन’ कार्यक्रमअन्तर्गत धादिङ, चितवन, काभ्रेसहित नेपालका विभिन्न स्थानमा गत अप्रिलबाट अध्ययन सुरु भएको छ। यो क्रम २०८३ सम्म रहने नार्कले जनाएको छ। उक्त अध्ययनले माइट व्यवस्थापन गर्नेछ। मौरीको संख्या जोगाउनेछ। महको गुणस्तर नबिगार्ने अभिप्रायले वैज्ञानिकहरूले कम घातक विषादीको प्रयोग गरेर ती किराहरूको व्यवस्थापन गर्ने र त्यसको प्रभावकारिता हेर्ने न्यौपानेले बताए।
उक्त अनुसन्धानमा वैज्ञानिक रूपमा प्रमाणित भएका सुरक्षित विषादी राखेर परीक्षण गर्न खोजिएको छ। नीमको तेल, लसुन, अदुवाको पात, फर्मिक एसिड (सुरक्षित मानिएको विषादी) लगायतको प्राकृतिक र वनस्पतिजन्य वस्तुको प्रयोग गरिएको छ। नार्कले खुमलटारस्थित कार्यालय परिसरमा १८ वटा घार राखेर माइट व्यवस्थापनको काममा अनुसन्धान गरिरहेको छ।
न्यौपानेका अनुसार सुलसुले रोग मौरीको लार्भा र चाकामा लाग्छ। जसका कारण मौरी कतिपय लुलो, लंगडो निस्कन्छन्। यसले वयस्क भएर निस्कँदा कसैको प्वाँख छोटो हुने, खुट्टा नहुने, प्वाँखै नहुने र उड्न नसक्ने बनाइदिन्छ। सुलसुलेले मौरीको शरीरको बाहिरै बसेर रगत चुस्छ। कुनै मौरी वयस्क हुने बेलासम्म मर्ने गर्छन्। उसले रस, पराकण, (प्रोपोलिस) चोपहरू दैनिक संकलन गर्नुपर्छ। तर, यो संक्रमण भएमा ती काम गर्न नसक्ने हुन्छन्। न्यौपानेले भने, ‘मौरी शारीरिक रूपमा असक्त जस्तो हुन्छ। सामान्य आकारभन्दा फरक हुन्छ।’
मौरीका कामदार समूह सबैभन्दा बढी सक्रिय हुनुपर्छ। तर, सुलसुलेका कारण उनीहरूको दैनिकीमा अवरोध हुन्छ। उनीहरूले चाहिने जस्तो खाना संकलन गर्न नसकेपछि विस्तारै घार नै रित्तिन्छ। अर्का वरिष्ठ वैज्ञानिक रत्न थापाका आफ्नै पहलमा मौरी र यसमा देखिएका समस्याको अनुसन्धान गरिरहेका छन्। चितवनको गैंडाकोटमा एपिथेरापी (मौरीजन्य वस्तुबाट उपचार गर्ने पद्धति) मार्फत मौरीको प्रवद्र्धन तथा अनुसन्धान गरिरहेको उनी बताउँछन्।
मौरीको रानी नियन्त्रण गरेमा यस्ता समस्या नियन्त्रणमा आउने उनले बताए। भने, ‘माइट व्यवस्थापनको लागि (ब्रिडिङ) प्रजनन गर्दा आनुवंशिक रूपमा चयन (जेनेटिकल्ली सेलेक्सन) हुन्छ। त्यो महत्त्वपूर्ण कुरा हो। त्यसमा मौरीको स्वच्छ व्यवहार हेरिन्छ।’ ल्याब टेस्ट गरिन्छ। त्यसबाट ब्रिडिङ गरिन्छ। टोक्ने, भाग्न तथा उत्पादन दिनेलगायत सबै व्यवहार जेनेटिक सेलेक्सनमा पर्ने उनले बताए। थापा भन्छन्, ‘आमा ठीक भए सबै कुरा ठीक हुने भएकाले रानी कस्तो छ त्यो महत्त्वपूर्ण हुन्छ।’
उनले करिब ३५ वर्षदेखि यसै क्षेत्रमा काम गरिरहेको बताए। काठमाडौंमा बसेर अध्ययन गर्ने गर्थे। तर, काठमाडौंमा प्लटिङका कारण मौरीका लागि चरन क्षेत्र विनाश भएसँगै उनी चितवन लागे। थापाका अनुसार मौरीको संख्या विनाश भएमा मानिसको अस्तित्व हराएर जाने र मानव अस्तित्वका लागि मौरी एकदमै आवश्यक छ।
पाँच वर्षदेखि बुटवल उपमहानगरपालिका– १९ मा मौरीपालन गर्दै आएका गोपाल बोहरा मौरीमा देखिने समस्याले हैरान भएको बताउँछन्। सुलसुलेले मौरी सखाप बनाएकाले जडीबुटीको प्रयोगबाट किरा नियन्त्रणमा उनी लागेका छन्। तर, नेपालमा प्रायःले केमिकलको प्रयोग गर्दै आएको उनले बताए।
सुलसुले नियन्त्रणका लागि कहिलेकाहीँ रानीविहीन गराएको बोहराले पनि बताए। लार्भामा सुलसुले धेरै लाग्ने भएकाले लार्भा नहुनका लागि रानी नै नराखेको उनको अनुभव छ। उनले भने ‘माइट व्यवस्थापनका लागि मौरीको नियमित प्रक्रिया रोकिदिने गरेको छु। रानी नै नराखेर। मौरीमा अन्य रोग पनि छन्। सबैभन्दा सताउने यो माइट नै हो।’ तर, रानीविहीन बनाएर काम नहुने नार्कका वैज्ञानिक बताउँछन्।
सय वटा घारमा मौरी पालिरहेका उनले एक सिजनमा कम्तीमा २५ क्विन्टन मह उत्पादन गर्छन्। बोहराले भने ‘खडेरीले पनि एकदमै प्रभाव पार्दो रहेछ।’ अत्यधिक जाडो, लामो समय हुस्सु लाग्दा मौरीले बाहिरबाट खाना ल्याउन सक्दैन र चास्नी खुवाउनुपर्ने समस्या आउँछ। असारदेखि असोजसम्म पनि चास्नी खुवाउनुपर्ने हुन्छ। कात्तिक पहिलो सातादेखि चरन सुरु हुन्छ।
झापा अर्जुनधारा नगरपालिकामा २०५५ सालदेखि मौरी पाल्दै आएका दीपा खरेलका अनुसार मौरीमा विभिन्न प्रकारका समस्या देखिन्छन्। तर आफैंले समाधानका उपायहरू खोज्दै आएका छन्। १ सय २० घार मौरी पालिरहेको उनको परिवारले कहिलेकाहीँ घार नै सखाप हुने समस्या पनि भोगेका छन्।
सुलसुले रोग मौरीको लार्भा र चाकामा लाग्छ। जसका कारण मौरी शारीरिक रूपमा कमजोर निस्कन्छन्। वयस्क भएर निस्कँदा कसैको प्वाँख छोटो हुने, खुट्टा नहुने, प्वाँखै नहुने र उड्न नसक्ने अवस्थाका पनि हुन्छन्। सुलसुलेले मौरीको शरीरको बाहिरै बसेर रगत चुस्छ। कुनै मौरी वयस्क हुने बेलासम्ममा यसकै कारण मर्छन्।
विष्णु न्यौपाने, वरिष्ठ वैज्ञानिक (एस–२), नार्क
विभिन्न स्थानमा चरनमा लैजान्छन्। मौरी चरेको ठाउँमा राम्रो उत्पादन हुने विश्वासले मानिसहरूले विषादी लगाउन छाडेका छन्। आजकल खेतीमा मौरी चराउन आफैंले बोलाउने गरेको बताइन्। खरेलले भनिन् ‘अनुसन्धानका लागि हामीले निश्चित घेरामा मौरी चराएर हेर्यौं। ती ठाउँमा धेरै उत्पादन भएको भेटियो।’ तर, मौरीपालनमा मौसमले निकै ठूलो चुनौती दिँदै आएको र रेखदेखमा कुनै पनि समय तत्पर भएर बस्नुपर्ने उनले सुनाइन्।
कुनै पनि प्रकारका विषादीको प्रयोग गर्न नपाउने नियम छन्। महमा केमिकल भेटिएमा खान योग्य हुँदैन। मानिसले थाहै नपाई विषादी प्रयोग गरेर महको गुणस्तर बिगारेको नार्कका वैज्ञानिक न्यौपानेले बताए। विषादीको असर घातक र कम घातक हुन्छ। घातक विषादीले मौरी मर्छन्। कम घातकको असर दीर्घकालीन हुन्छ। मौरी चरनमा नजाने समयमा विषादी प्रयोग गरेमा पनि समस्या समाधान हुने उनको बुझाइ छ।
जब महमा विषादी देखियो
माइट व्यवस्थापनको लागि पहिला रासायनिक केमिकलहरू हाल्ने गरिन्थ्यो। त्यो हाल्दा महको गुणस्तर बिग्रियो। नेपालको मह हिमालयन महको रूपमा चिनिन्थ्यो र एकदमै मूल्यवान् थियो। अत्यन्तै राम्रो माग पनि थियो।
विश्व व्यापार संगठन (डब्लूटीओ) ले सन् २०१२ पछि विभिन्न मापदण्ड पालना गर्नुपर्नु पर्ने बनायो। त्यतिबेला महमा विषादीको थिगार (रेसिड्यु) बाँकी रहेको देखायो। त्यसपछि नेपालको महको माग खासै नभएको वैज्ञानिक न्यौपानेले बताए।
तरकारीलगायत अन्य बालीमा विषादी लगाउँदा महमा असर देखिएको हो। खेतबारीमा प्रयोग गर्दा मौरीमा लाग्छ। त्यसको असर महमा पर्यो। चरनमा गएर आउँदा घारमा मर्ने पनि हुन्छ। नेपालमा तरकारी खेती धेरै गरिने ठाउँमा विषादी देखिने गरेका छन्।
शुद्ध मह चिन्न समस्या
यसका लागि विभिन्न माध्यमहरू छन्। एकै तरिकाले थाहा नहुने बताउँछन् न्यौपाने। महमा पानी, चिनी, प्रोटिन तथा कार्बोहाइड्रेडको मात्रा कति छ हेर्नुपर्छ। त्यसका लागि ल्याबमा परीक्षण गर्नुपर्छ। हेरेर मात्रै महको गुणस्तर चिन्न गाह्रो छ।
आम मानिसको बुझाइमा पानीमा महको थोपा चुहाउने, त्यो स्वाट्टै छिरेर गयो भने राम्रो भनिन्छ। पानीमा फैलिँदै गएमा अशुद्ध मह भएको मान्यता छ। मह आगोले डढ्दैन, कुकुरले खाँदैन भनिन्छ। तर, यी कुनै पनि कुरामा सान्दर्भिकता नभएको न्यौपाने बताउँछन्। ‘आर्टिफिसियल मह पनि हेर्दा उस्तै र स्वाद अझै राम्रा बनाउने गरेको देखिन्छ’ न्यौपानेले भने ‘दुरुस्तै बनाइदिन्छन्। स्वाद अझ मीठो।’
नार्कले के गर्दैछ ?
किरा व्यवस्थापनको लागि फर्मिक एसिड, एपिस्टानजस्ता खतरा विषादी प्रयोगले महको गुणस्तर बिग्रियो। त्यसैले सुरक्षित खालको फर्मिक एसिड, लसुन, अदुवाको पातलगायत पाँच वटा ट्रिटमेन्ट प्रयोग गरिएको छ। जसले मानव तथा वातावरणको लागि सुरक्षित हुने र मौरीको कोलोनीको लागि सुरक्षित हुने न्यौपाने बताउँछन्। तीनदेखि पाँच किलोमिटरसम्म चरनमा जान्छन्। मौरीहरू चरनमा जाँदा पनि घातक र घारभित्रै पनि असुरक्षित देखिएका छन्।
मौरीका जीवनचक्र र किसिम
मौरीमा तीन किसिमका जात हुन्छन्– (वर्कर) कामदार समूह, (ड्रन) भाले र (क्विन) रानी। रानी एउटा मात्र हुन्छ। उसको काम अन्डा पार्ने हुन्छ। यो घरबाट निस्कँदैन। एक पटकमा १५ देखि १६ दिनसम्म सम्भोगका लागि बाहिर निस्कन्छ। त्यसपछि घारमा आएर दैनिक १५ सय देखि दुई हजारसम्म अन्डा पार्छ। अन्डाबाट निस्किएको ३ देखि ६ दिनमा चाकाहरू सफा गर्ने, कहाँ के छ सरसफाइ गर्छन्।
मौरीको रानीलाई छुट्ट्याएर राखेमा सुलसुलेको समस्या नियन्त्रणमा आउँछ। रानी पनि सुरक्षित रहन्छ। रानी आमा हो। आमा ठीक भए सबै कुरा ठीक हुने भएकाले यसलाई जोगाउनु पर्छ।
रत्न थापा, वरिष्ठ वैज्ञानिक
मौरीको (वर्कर) को टाउकोमा ग्रन्थी हुन्छ। त्यसलाई रोयल जेली (शाही खुराक) भनिन्छ। त्यो ग्रन्थीबाट निकालेर बच्चाहरूलाई खुवाइन्छ। खुवाएको १४ देखि १५ दिनपछि पेटमा मैन ग्रन्थी हुन्छ। त्यो निकालेर चाकाहरू टाल्ने काम गर्छन्। १८ देखि २० दिनमा गेटमा पालेको काम गर्छन्। मह चोर्न नदिन चौकीदारी गर्छन्। कामदार मौरी ४५ दिन जति बाँच्छन्। यस अवधिमा मैन, रस तथा पराग कणलगायत संकलन गर्ने काम गर्छन्।
भालेको काम सम्भोगको लागि मात्रै हुन्छ। सम्भोगपछि मह मात्रै खाएर बस्न खोज्छ। र त्यसपछि कामदार समूहले यसको काम छैन भनेर मारी दिन्छन्। भालेहरू प्रायः साउन भदौमा सकिन्छन्। भालेले हेर्दा ठूलो हुन्छ। काम केही गर्दैन। कामदारले तान्दै निकालेर टोक्दै मार्छन्। कामदारहरूले रानीलाई निरन्तर खुवाउने गर्छन्। १३ दिनमा रानी निस्कन्छन्। २१ दिनमा कामदार समूह र २४ दिनमा भाले निस्कन्छन्।
ग्रन्थीबाट निस्किएको शाही खुराक अलि धेरै दिन खुवायो भने रानी निस्कन्छ। रानीले ठूलो सेलमा फुल पार्छ। ठूलो सेलमा फुल पार्नेबितिकै कामदार समूहले रानी निकाल्न खोजेको भनेर शाही खुराक लगातार खुवाइदिन्छन्। त्यसपछि त्यो रानी हुन्छ। शाही खुराक सबैभन्दा कम खुवाएमा भाले निक्कन्छ। र ठीक्क खुवाएमा कामदार समूह निस्कन्छन्।
शाही खुराक तीन दिन सामान्यत खुवाइन्छ। तीन दिनमात्रै खुवाएमा भाले हुन्छ। न्यौपानेका अनुसार कामदार समूहको आयु ४५ दिन, भाले ५० देखि ५७ दिन बाँच्छ। रानी करिब चार, पाँच वर्ष बाँच्छन्। शाही खुराकले उनीहरूको आयु लामो बनाउँछ। बुढो भएपछि पुनः अर्को रानी विकास गर्छन्। मह दुई वटा सिजनको राम्रो मानिन्छ। त्यो हो स्प्रिङ र अटम सिजन। चैतदेखि जेठसम्म सबैभन्दा राम्रो मह हुन्छ।
साभार:annapurnapost.
प्रतिक्रिया