×

गोठाला र कार्यालय सहयोगीको भरमा अनुसन्धान केन्द्र

images

जुम्लामा रहेका सरकारी लगानीका पाँच वटा अनुसन्धान केन्द्रहरुले अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनन् । स्थापना कालदेखिनै वैज्ञानिक, प्राविधिक अधिकृतलगायतका जनशक्ति अभाव भोग्दै आएका केन्द्रहरुले अनुसन्धानमा उपलब्धी देखाउन नसकेका हुन् ।

राज्यकै लगानीमा जुम्लामा भेडाबाख्रा अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, वनस्पति अनुसन्धान केन्द्र, बाग्वानी अनुसन्धान केन्द्र, कृषि अनुसन्धान प्रतिष्ठान गरी पाँच अनुसन्धान केन्द्र सञ्चालित छन् । तर स्थापना भएको दशकको बित्दा पनि यी अनुसन्धान केन्द्रले के गर्दै छन् ? कुन कुन क्षेत्रमा अनुसन्धान गर्दैछन् ?

के उपलब्धी हासिल गर्ने भन्ने विषयमा किसान त परै जावस सरोकारवाला समेत अनविज्ञ छन् । जुम्लामा रहेका पाँच वटा अनुसन्धान केन्द्रले वर्षौंदेखि वैज्ञानिक अभाव भोग्दै आएका छन् । दरबन्दीनुसार वैज्ञानिक र अन्य जनशक्ति नहुँदा उपलब्धी शुन्य जस्तै छ ।

अनुसन्धान केन्द्रका काम,उपलब्धी र चुनौती

२०२८ सालमा स्थापना भएको गुठिचौर गाउँपालिका २ स्थित भेडाबाख्रा अनुसन्धान केन्द्रले बितेको ५ दशकमा अपेक्षित उपलब्धी हासिल गर्न सकेन । विदेशी भेडासँंग स्थानीय जातको भेडा क्रस गरी नयाँ उन्नत जातको भेडा उत्पादन गर्ने, किसानलाई वितरण गरी भेडापालनमा वृद्धि गर्ने, मासुमा आत्मनिर्भर जिल्ला बनाउने र भेडाबाख्रामा अनुसन्धान गर्ने केन्द्रको जिम्मेवारी हो । तर पाँच दशकमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरले ६० वटा उन्नत जातका भेडा उत्पादन गरी ४० वटा मात्रै किसानलाई वितरण गरेको छ ।

पाँच दशकको उपलब्धी भनेकै यत्ति हो । भेडाबाख्रा अनुसन्धान केन्द्र पाँच दशकमा पनि गतिलो काम गर्न नसक्नुको मुख्य कारण वैज्ञानिकसहित दक्ष जनशक्ति अभाव हो । स्थापनाकाल देखि नै उक्त अनुसन्धान केन्द्रमा दरबन्दीनुसार वैज्ञानिक कहिल्यै आएका छैनन् । न त केन्द्रमा पर्याप्त जनशक्ति न प्रयोगशाला । भेडाबाख्रा अनुसन्धान केन्द्र गोठालाकै भरमा चलिरहेको छ । यहाँका वैज्ञानिक भनेकै गोठाला हुन् । विज्ञ वैज्ञानिक भन्दा अनुभवी गोठालाले नै भेडाबाख्रा अनुसन्धान केन्द्र धानेका छन् । केन्द्रमा ८ जना गोठाला छन् ।

उनीहरुले भेडा चराउने, दानापानी दिने मात्र गर्दैनन् भेडाको अनुसन्धानमा समेत काम गर्छन् । केन्द्रमा रहेका १० जना गोठालाले पाँच दशकदेखि भेडाबाख्रा अनुसन्धान केन्द्र सम्हालेका छन् । ४ जना वैज्ञानिक, २ जना प्राविधिक अधिकृत, ५ जना प्राविधिक सहायकसहित २२ जना दरबन्दी रहेको केन्द्रमा वर्षौंदेखि ४ जना कर्मचारी मात्रै कार्यरत छन् । जसमा १ वैज्ञानिक, १ प्राविधिक सहायक र २ कार्यालय सहयोगी रहेका छन् । रिक्त १८ जनामध्ये ३ जना वैज्ञानिकै छैनन् ।

भेडाबाख्रा अनुसन्धान केन्द्रका वैज्ञानिक रमेश शाह भन्छन्, ‘हाम्रो चुनौतीनै वैज्ञानिकसहित जनशक्ति अभाव हो । ४ जना वैज्ञानिक हुनुपर्नेमा म एक्लै छु । हाल केन्द्रमा ३०८ भेडाबाख्रा छन् । तर वैज्ञानिक नहुँदा अअपेक्षित अनुसन्धान गर्न सकिएको छैन । जसका कारण हाम्रो उपलब्धी सन्तोषजनक छैन ।’ गत आवमा केन्द्रमा आएको कुल १ करोड ७० लाख बजेटमध्ये ४० लाख खर्च नभएर फिर्ता भएको छ । अनुसन्धान शून्य, घाम ताप्ने र तलब खानेबाहेक अरु काम छैन । तर रिक्त पदका लागि विज्ञापन भइसकेको शाहले उल्लेख गरे ।

कृषि अनुसन्धान प्रतिष्ठान (नार्क)

अनुसन्धान केन्द्र भनेपछि वैज्ञानिकसहितका पर्याप्त जनशक्ति नभई नहुने ठाउँ हो । तर जुम्लामै रहेको ‘कृषि अनुसन्धान केन्द्र’ (नार्क) विजयगरले पनि स्थापना कालदेखि वैज्ञानिक अभाव झेल्दै आएको छ । यस प्रतिष्ठानमा एक जना (एच फो) तहको वरिष्ठ वैज्ञानिक र ३ जना (एच टु) तहको गरी ४ जना वैज्ञानिकको दरबन्दी छ । तर हालसम्म (एच फो) तहको वैज्ञानिक जुम्लामा आएकै छैनन् भने (एच टु) तहका १ जना मात्रै कार्यरत छन् । उक्त केन्द्रले सिमी, धान, गहुँ, चिनो कागुनो, कोदोलगायतका बालीमा अनुसन्धान गरिहेको छ ।

जुम्ली मार्सी दर्ता प्रक्रियामा छ भने सिमीमा (केविएल १ देखि केविएल ३ सम्म) उन्नत जात सिफारिस हुने क्रममा छन् । त्यस्तै उन्नत धान पनि सिफारिसकै प्रक्रियामा छ । तर वरिष्ठसहित ३ जना वैज्ञानिक नहुँदा जुम्लाको बालीनाली, सिफारिस भएका उन्नत जातका बालीमा लाग्ने रोग किराको निवारणबारे कुनै अनुसन्धान हुन नसकेको केन्द्रका निमित्त कार्यालय प्रमुख धनबहादुर बुढा बताउँछन् । विज्ञ वैज्ञानिक त सधैं अभाव हुन्छ । तर कार्यालय काममा सघाउने कार्यालय सहयोगी तथा अनुभवका आधारमा गरिने अनुसन्धानकै भरमा केन्द्र बढीरहेको छ ।

‘जानी नजानी तल्लो तहका कर्मचारीले काम गरिरहेका छौ । वैज्ञानिक अभावकै बीच केहि बालीमा अनुसन्धान भएपनि बालीमा रोग किरा किन लाग्छ ? कसरी नियन्त्रण गर्ने ? मोटो परिक्षण कसरी गर्ने भन्ने थाहा छैन् । वैज्ञानिक नहुँदा विज्ञता भन्दा अनुभवका आधारमा काम गर्न बाध्य छौं’ उनी भन्छन्, ‘सरकारी बजेट खर्च अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनौ । सिचाँई फिल्डको अभाव त्यस्तै छ । जिल्लाका पाँचै अनुसन्धान केन्द्रको हालत यस्तै हो ।’

उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान

त्यस्तै गुठिचौरमै रहेको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान बेकामे बनेको छ । यो प्रतिष्ठान स्थापना भएको पनि पाँच दशकनै बित्यो तर प्रतिष्ठानले अहिलेसम्म अनुसन्धानका नामा माखो मार्न सकेको छैन । किन की त्यहाँ वैज्ञानिक नै छैनन् । ४ जना वैज्ञानिकसहित १८ जना दरबन्दी रहेको प्रतिष्ठानमा १ जना प्रशासकीय अधिकृतबाहेक १७ पद रित्त छन् ।

हिमाली जिल्लामा उत्पादन हुने फलफूल तरकारीको अनुसन्धान गर्ने, रोग किरा नियन्त्रणको विषयमा जाँचबुझ गर्ने, अन्य अनुसन्धान केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी पाएको कृषि अनुसन्धान प्रतिष्ठानले दशकौंसम्म एकजना वैज्ञानिक नपाउँदा अनुसन्धान कार्य ठप्प भएको छ । प्रतिष्ठानका नाममा आउने राज्यको बजेट बालुवामा पानी जस्तै भएको छ ।

वैज्ञानिक नपठाउने तर बजेट पठाउने सरकारकै कमजोरीले अनुसन्धान केन्द्रहरु कामविहीन भएका छन् । उक्त केन्द्रको गत आवमा कुल बजेट ३५ लाख आएको १० लाख फिर्ता भएको छ । अनुसन्धान नै नहुने वैज्ञानिक नै नआउने भएपछि उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान राज्यको उपेक्षामा पर्दै आएको छ ।

बागवानी अनुसन्धान केन्द्र राजीकोट

यता बाग्वानी अनुसन्धान केन्द्र राजीकोटले फलफूलको गुणस्तरीय कलमी बेर्ना उत्पादन तथा विभिन्न तरकारीको स्रोत बिउ उत्पादन अनुसन्धान अन्तर्गत स्याउ, लसुन, केराउको जातीय अनुसन्धान तथा दाँते ओखरको कलमी प्रविधि अनुसन्धान गरिरहेको छ । त्यस्तै उच्च पहाडका सिफारिस भएका जातका बिउ आलु उत्पादनमा अनुसन्धान भइरहेको छ । तर २०३१ सालमा स्थापना भएको यस अनुसन्धान केन्द्रले वैज्ञानिकसहितका जनशक्ति अभावका कारण अपेक्षित उपलब्धी हासिल गर्न नसकेको कार्यरत वैज्ञानिक राजकुमार गिरीले बताए ।

‘हामीलाई सरकारबाट शिर्षकमा कार्यक्रम आउदैन् । हामीले प्रपोजल लेखेर पठाएपछि मात्रै बजेट आउने हो ।’ उनले भने, ‘तर जनशक्ति छैन । ३ जना वैज्ञानिक हुनु पर्नेमा एक्लै म छु । प्राविधिक अधिकृत ३ जनाकै पद रित्त छ । एक्लैले प्रपोजल लेख्ने की, अनुसन्धान गर्ने की कार्यालय व्यवस्थापन गर्ने ? अनि उपलब्धी कसरी हासिल हुन्छ ? काम गर्न निकै कठिन छ ।’ ६ जना प्रपोजल लेख्ने कार्यक्रम पेश गर्ने जनशक्ति हुनुपर्ने केन्द्रमा एक्लैले सबै काम गर्न खोज्दा अपेक्षित उपलब्धी नहुने गिरीले स्वीकार गरे । गत आवमा कुल बजेट ३ करोड १६ लाख रहेकोमा २ करोड ८४ लाख खर्च भएको र ३२ लाख फिर्ता भएको छ ।

वनस्पति अनुसन्धान केन्द्र

जुम्लामै रहेको वनस्पति अनुसन्धान केन्द्रले कर्णालीमा पाइने वनस्पतिको संरक्षण तथा पहिचान, सुगन्धीत वनस्पतिको तेल प्रतिशत निर्धारण, वनस्तपति खेती प्रविधिको अध्यायन अनुसन्धानलगायतका काम गर्दै आएको छ । उक्त केन्द्रमा ३ जना वैज्ञानिक दरबन्दी रहेकोमा एक जना कार्यरत, एकजना सरुवा भई आउँदै गरेको र १ जना रिक्त रहेको छ । कुल दरबन्दी १७ रहेकोमा ५ जना दरबन्दी रिक्त छ ।

यद्दपि २०३६ सालमा स्थापना भएको वनस्पति अनुसन्धान केन्द्रले वनस्पतिको अध्यायन, अनुसन्धान तथा पहिचानमा कुनै बाधान नआएको कार्यरत वैज्ञानिक तेजबहादुर दर्जीले बताए । उनका अनुसार स्रोत कम, त्यसैमाथि बजेट रोक्का हुँदा अनुसन्धान काम प्रभावकारी हुन सकेको छैन । अनुसन्धान प्रभावकारी बनाउन बजेट र जनशक्ति दुवै पर्याप्त हुनुपर्नेमा उनको जोड छ । जिल्लामा रहेका पाँच वटा अनुसन्धान केन्द्रमा बर्सेनि करोडाैं बजेट विनियोजन भएपनि उपलब्धि शून्यजस्तै देखिएको छ ।

मुख्य कारण वैज्ञानिक अभाव छ । राज्यले अनुसन्धान केन्द्र स्थापना गरीसकेपछि अपेक्षित उपलब्धी हासिल गर्न पर्याप्त बजेट जनशक्ति पु¥याउनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको भनाइ छ । जिल्लाका पाँच वटै अनुसन्धान केन्द्रको अवस्था सन्तोषजन नहुनुमा राज्यकै कमजोरी रहेको छ । तर भएका जनशक्तिले पनि अपेक्षित काम गर्न नसकेको उनको दाबी छ । त्यस्तै भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरमा एकातिर राज्यले वैज्ञानिक नपठाउने अर्कोतिर विकटताका कारण आएका वैज्ञानिक ५/६ महिना नबस्ने समस्या छ ।

यद्दपि, हाल वैज्ञानिक रमेश शाह भने लामो समयदेखि जुम्लामै कार्यरत छन् । तर हालसम्म जिल्लाका पाँचै अनुसन्धान केन्द्रले कसरी काम गरिरहेका छन् ? कुन बालीमा अनुसन्धान भइरहेको छ ? भन्नेबारे स्वयं किसान तथा सरोकारवाला नै अनविज्ञ छन् । उन्नत जातको धान उत्पादनका लागि अनुसन्धान गरी कृषि उत्पादन वृद्धि गर्ने, किसानको जीविकोपार्जनमा सुधार गर्ने लक्ष्य भएपनि अपेक्षित काम हुन सकेको छैन ।

अनुसन्धानमा राज्यले करोडौ खर्चिएपनि उपलब्धी नदेखिनु दुःखद पक्ष हो । सरकारले कर्मचारी नपठाउने, आएका कर्मचारी नबस्ने, प्रोजेक्ट लेख्ने विज्ञ नहुँदा बजेट घट्दै जाने, सडक, बत्ती, इन्टरनेटको सुविधा नहुँदा जुम्लाका अनुसन्धान केन्द्रहरुले समस्या भोगीरहेका छन् ।

साभार:karobardaily

 

बुधबार ३१ साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया