पाल्पा — निस्दी गाउँपालिकाको गल्धा, झिरुवास, मित्याल, ज्यामिरे, अर्चले, सहलकोट लगायतका गाउँमा अदुवाको भाउ आउने र नआउनेसँग मतलव हुन छाड्यो । अदुवाको भाउ आओस्/नआओस् हरेक वर्ष अदुवा लगाउँछन् । भाउ आए बिक्री गर्छन् । नआए भट्टीको आगोमा सेकाएर कालो सुठो तयार गर्छन् । ‘अदुवाको भाउ आउने/नआउने हामीलाई केही फरक पर्दैन,’ निस्दी गाउँपालिका–५, गल्धा गेझाकी लिलीकुमारी पचभैया मगरले भनिन्, ‘भाउ आइहालेछ भने बिक्री गरिन्छ । होइन भने सुठो बनाएर बेमौसममा बजार लग्ने गरिन्छ ।’
निस्दी गाउँपालिका–४, भीरपानीकी खिमकुमारी गाहा मगर पनि घरखर्चका लागि अदुवा लगाउने गर्छिन् । हरेक वर्ष अदुवा लगाउने उनले बिक्री भएन भने सुठो बनाउने हो । घरखर्च, छोराछोरी पढाउन, नुनतेल, मसलाका लागि खर्च मात्र होइन केही बचत रकम पनि अदुवाबाटै हुन्छ । अदुवा लगाउने पुस्तौनी पेशा हो । ‘हामीले अदुवा भाउ आए पनि नआए पनि लगाउने गरिन्छ,’ उनले भनिन्, ‘डाँडाको बस्ती छ । जसले गर्दा अन्य खेती खासै हुँदैन । पाखो बारीमा मकैको छहारीमै अदुवा लगाइन्छ ।’ अदुवा बिक्रीबाट सबै खर्च चलाउने उनले बताइन् ।
लिलीकुमारी र खिमकुमारी मात्र होइन, पूर्वभेगका अधिकांश बस्तीमा अदुवा खेती नगदे बाली हो । अन्य खेती कम लगाउने उनीहरु अदुवालाई महत्त्व दिन्छन् । बाबुबाजेकै पालादेखि अदुवा लगाउने, बिक्री गर्ने र नबिकेमा सुठो बनाएर तराईको अरुणखोला, दुम्किबास, चोरमारा, कावासोती, बर्दघाट लगायतका बजारमा लग्थे । ‘बिक्री नै भएन भने पनि सुठो बनाउने गरिन्छ,’ निस्दी गाउँपालिका–५, गल्धा गेझाकी यमुना सारु मगरले भनिन्, ‘नेपालका बजारमा बिकेन भने नजिकका भारतीय बजारहरु त्रिवेणी र ठुटीबारीमासमेत लगेर बिक्री गरिन्छ ।’
उनका अनुसार पहिले पहिले सुठो बोकेर लैजाने किसानको लाइन लामै हुन्थ्यो । तर अहिले भने यातायातको सुविधाले धेरै सहज भएको छ । सयौं बोरा सुठो भारतीय बजारमा लगेर बिक्री गर्ने प्रचलन थियो । अहिले भने कालोमात्र होइन सेतो सुठो पनि बनाउन थालेका छन् । केही वर्षयता निस्दी गाउँपालिका–५, गल्धाको ढुंगानाबेंसीमा अदुवा प्रशोधन उद्योग खुलेको छ । ‘अहिले हामी अझ धेरै खुसी भएका छौं,’ सारुमगरले भनिन्, ‘बजारका लागि व्यवस्थापन पनि गरेको छ भने चाना, धुलो बनाउने गर्दा केही सजिलो हुन्छ ।’
सुरुमा घरेलु तथा साना उद्योग कार्यालयबाट सामान्य मेशिनका साथै केही रकम भवन निर्माणका लागि सहयोग रहेको थियो । पछिल्लो समयमा भने हेफर इन्टरनेसनल, गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अदुवा बेसार जोन, कृषि ज्ञान केन्द्र लगायत विदेशी दातृ निकायबाट पनि सहयोग पाएका छन् । महिला सहकारीले प्रशोधन उद्योगको व्यवस्थापन गर्दै आएको छ । साथै बिक्री, प्रशोधन गर्ने काम भइरहेको संचालक नारायणी ढुंगानाले बताइन् ।
पूर्वी भेगका किसान अदुवाको भाउ आउला र बिक्री गराैंला भनेर बस्न नपरेको उनले उनले बताइन् । पूर्वका गाउँमा ५ हजार बढी किसानले अदुवा लगाउँछन् । ‘भाउ आए बिक्री गर्ने र नआए आगोमा सुकाएर सुठो बनाउने गर्थे,’ उनले भनिन्, ‘अहिले यस्तो हुन्न । हामीले नै बजारका लागि सहयोग गरेका छौं ।’ उनका अनुसार अन्यत्र अदुवा सकिँदा यहाँका किसान खन्न व्यस्त हुन्छन् । अहिले पनि अन्यत्र अदुवा सकियो । कपिपय किसानले अदुवा रोपेर पनि सकाए । तर यहाँका किसान खन्नमा व्यस्त छन् । पाल्पाको पश्चिम भेगमा भने कात्तिकमा अदुवा स्याहार्ने गरिन्छ ।
बिक्री भएन भने पूर्वका किसानले बारीबाटै खन्दैनन् । लगाउने बेला भइसक्दा खन्न र बिक्री गर्न हतारो हुनेगर्छ । सहकारीले सरकारी र विभिन्न दातृ निकायको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने अदुवा प्रशोधन उद्योग संचालन गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको खोजीमा रहेको व्यवस्थापक दिलमाया सारुले बताइन् । पूर्वी भेगमा ५ सय हेक्टर बढी क्षेत्रफल पुग्ने गरी किसान समेटेर अदुवा बेसार जोन संचालनमा छ । यसको उत्पादनमा विविधिकरण गर्न मेशिनरी सहयोगका साथै बजारको व्यवस्थानमा जोनले सघाउँदै आएको छ । प्रशोधन उद्योगका लागि सबै क्षेत्रको सहयोग छ । अब भनेको बजारको खोजी गर्नुपर्ने छ । अघिल्ला वर्षमा बिक्रीका लागि समस्या थियो । यसवर्ष त्यो पनि रहेन । बिउ अदुवा पाउनै मुश्किल परेको उनले बताए । विभिन्न दातृ निकाय, सरकारी निकाय पनि अदुवामा लगानी गरेका छन् । तर विगतमा निर्माण भएका संरचना अलपत्र छन् भने अहिले पुनः अन्य निकायबाट सहयोग जुटेको छ ।
जिल्लाका प्रायः सबै स्थानमा अदुवा उत्पादन हुन्छ । उत्पादन वृद्धि गर्न २० वर्षअघिदेखि नै सरकारी, गैरसरकारी र सरोकारवाला निकायले काम गर्दै आएका छन् । तर बजार भाउ नआउने, बजारको अनिश्चितता हुँदा धेरै किसानले लगाउनै छाडेका थिए । सरकारी तथा गैरसरकारी निकायले एकापसमा समन्वय नै नगरी अदुवामा लगानी गर्दा कतिपय किसानले दोहोरो तेहेरो फाइदा लिने पनि छन् । कतिपय परम्परागत खेती गर्ने, पहुँच कम भएकाहरुले कहिल्यै सुविधा नपाउने समस्या रहेको किसानको गुनासो छ ।
अदुवा उत्पादनमा प्रख्यात भएपनि अहिले उत्पादनका हिसाबले ६० प्रतिशतले कमी आएको छ । २०७२ सालपछि पश्चिम भेगमा अदुवा खेती गर्ने ८० प्रतिशत घटेका छन् । २०५६ देखि ०६५ सम्म अदुवाको लागि स्वर्ण युग रहेको पालुङमैनादीका किसान कृष्ण थापाले बताए । 'भदौदेखि माघसम्म ट्रकका ट्रक अदुवा भारत निकासी हुन्थ्यो । भारतीय व्यापारी राजमार्ग र ग्रामीण भेगका डिपोमा लाइन लाग्थे' उनले सम्झिए '५० पैसादेखि ५ रुपैयाँसम्म किलोमा भाउ बढी दिएर लैजाने हतार हुन्थ्यो । सामुहिक, व्यक्तिगत अदुवा लगाएर वार्षिक ३ लाखदेखि १५ लाखसम्म कमाउने किसान थिए ।' अहिले भने किसान अन्य खेतीमा लागेको उनले बताए । ‘हाम्रो गाउँमा करोड बढीको अदुवा उत्पादन हुन्थ्यो,’ रिब्दीकोट–७, पालुङमैनादी, डबकाका दोलखबहादुर कार्कीले भने, ‘अहिले तरकारी खेती लगायतमा व्यस्त छन् ।’
व्यापारीहरुका अनुसार १० वर्ष अघिसम्म अदुवाको उत्पादन २३ हजार मेट्रिक टनसम्म पुगेको थियो । बिक्रीका हिसाबले २६ करोडसम्म जिल्लामा अदुवाबाट भित्रिएको थियो । अहिले ४० प्रतिशत पनि उत्पादन हुँदैन । सरकारी र गैरसरकारी क्षेत्रमा समन्वयको अभाव छ । बजारको खोजी अझै हुन सकेको छैन । ‘अन्तर्राष्ट्रिय बजार नखोज्ने हो भने भाउ घटबढ भइरहन्छ,’ व्यापारी शिव कुंवरले भने, ‘अब बजारका लागि ध्यान पुग्नुपर्छ ।’
भारतीय बजारमा निर्भर भएकाले अदुवा बिक्रीमा समस्या भएको उनले बताए । पाखो, पानी नजम्ने बारी प्रशस्त रहेकाले अदुवा खेती राम्रो हुन्छ । कृषिविज्ञ थमनबहादुर कार्कीका अनुसार अदुवाको लागि माटोको हिसाबले रातो पहेंलो जमिन राम्रो मानिन्छ । ‘त्यस्तै प्रकारको माटो भएकाले उत्पादन पनि राम्रो हुन्छ,’ उनले भने ।
कृषिविज्ञ कार्कीका अनुसार बढीजसो कोचिन जातको अदुवा उत्पादन हुने गर्दछ । यो जातको अदुवाबाट राम्रो गुणस्तरको सुठो तयार हुने हुँदा यसको आन्तरिक तथा बाहृय बजारमा धेरै प्रभाव पार्न सक्छ । तर, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट यसको प्रशोधन र बाहृय बजार विस्तारका लागि पहल नहुँदा किसान अदुवा खेतीबाट पलायन भए । अदुवाको बजार व्यवस्थापनमा विगतमा सघाएका रेडाका कार्यकारी निर्देशक लीला बहादुर कार्कीका अनुसार सम्बन्धित निकायको चासो, सहयोग र समन्वय नहुँदा भारतीय बजारमा पठाउने काममै सीमित भयो । अदुवालाई प्रशोधन गरी चाना, पाउडर, क्यान्डी, मार्रा, जुस, अचार आदि प्रशोधित उत्पादन तयार गर्न उनको सुभाव छ ।
अदुवाको मूल्य अभिवृद्धि गरी बिक्री गर्ने व्यवस्था गर्न सकेमात्र किसानले बढी भन्दा बढी फाइदा पाउने उनले बताए । १० वर्ष अघिसम्म जिल्लाको कुल १ हजार ३ सय हेक्टर जमिनमा अदुवा खेती गरिन्थ्यो । विगतमा वार्षिक १८ देखि २३ हजार मेट्रिक टन अदुवा उत्पादन भएको कृषिको तथ्याङ्कमा देखिन्छ । किसानले २० प्रतिशत अदुवा आन्तरिक बजार, पुनः बिउको रुपमा लगाएका हुन्थे ।
साभार:ekantipur.com
प्रतिक्रिया