×

चिनियाँ ‘कमरेड’ : जसले दुर्गम पहाडी गाउँलाई कफीबाट ब्रान्डिङ गराए

images

चीनको युन्नान प्रान्तस्थित भाओसान सहरबाट विशाल सडक छिचोल्दै सिन्छाई गाउँमा पुग्दा सेतो सर्ट, कालो पाइन्ट र कालै जुत्तामा सजिएर हाम्रो स्वागतमा तम्तयार थिए, ५६ वर्षीय वाङ चियावेई।

झट्ट हेर्दा मैले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङको झलक देखेँ उनमा। मसँगै गएका अन्य साथीहरूले चिनियाँ कम्युनिस्ट क्रान्तिका नेता माओ त्सेतुङको हुलियाँसँग वाङ चिवाङको तुलना गरे।औपचारिक पोशाकमा चिटिक्क देखिएका उनले चीनकै पहिलो कफी भिलेजमा न्यानो स्वागत गरे। चीनको कृषि र विकासबारे बुझ्दै जाने क्रममा हामी २७ अक्टोबरमा उनको नेतृत्वमा चीनमा प्रख्यात भइसकेको गाउँ सिन्छाई पुगेका थियौँ।

२२ वर्ष आर्किटेक्ट इन्जिनियरको काम गरेर सिन्छाई फर्किएका उनले ११ वर्षयता त्यहाँको नेतृत्व गरिरहेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी हुन् भने वाङले सिन्छाई भिलेज ब्रान्च कमिटीको नेतृत्व सम्हालेको ११ वर्ष बितेको छ।

वाङको औपचारिक हुलियासँगै मलाई आकर्षित गरेको अर्को कुरा थियो, उनले सर्टमा सिउरिएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को लोगो। चीन यात्राका क्रममा सीपीसीका युन्नान प्रान्तस्थित अन्य नेतालाई भेटे पनि नेपालको जस्तै भूगोल भएको एउटा गाउँको नेतासँग पहिलोपटक साक्षात्कार हुँदै थियो।वाङ सीपीसीका स्थानीय नेता त छँदै थिए सिन्छाई गाउँलाई कफीबाट चीनसहित विश्वभर प्रख्यात बनाउने मुख्य पात्र पनि। 

उनलाई सिन्छाईका गाउँलेले सीपीसीका सेक्रेटरीका रूपमा मात्रै चिन्दैनन्, उनी सिन्छाई गाउँ विकासका योजनकार, परिकल्पनाकार तथा कफी विकास म्यानेजर पनि हुन्।

करिब ५ सय ५० घरधुरी रहेको सिन्छाई गाउँ भिरालो आकारमा उत्तरतर्फ फैलिँदै गएको गाओलिन्चोन्ङ पहाडमुनि र तिब्बतबाट बग्दै गएको नुचियाङ (नेपालको अरुणजस्तै) नदीभन्दा माथि फैलिएको छ। यस गाउँले जति प्रगति गरेको छ, त्यो सबै एक दशकयताको हो। त्यसअघि सक्षम नेतृत्व नहुँदा यो गाउँ सदियौँदेखि हेपिँदै आएको अनुभव वाङले सुनाए।

यो गाउँ १२ वर्षअघिसम्म गुमनामजस्तै थियो। कफी खेती त हुन्थ्यो तर स्थानीय कृषकले बजारसम्म पनि पुर्‍याउन सकेका थिएनन्। चीन सरकारले यस क्षेत्रमा अहिलेजस्तो विशाल सडक सञ्जाल पनि लगेको थिएन। नेपालको कर्णालीजस्तै।

व्यवस्थित सडक सञ्जाल बनिनसके पनि ११ वर्षअघि यस गाउँमा छिरेका उनै वाङको नेतृत्वमा अहिले सिन्छाई चीनमै प्रख्यात भइसकेको छ। विश्वका सीमित कफी भिलेजमा यो गाउँ समावेश छ। विश्वका कफी मञ्चहरूको नक्सामा अटाउन थालिसकेको छ।

नेपालका पहाडी जिल्लासँग यस गाउँको भूगोल ठ्याक्कै मिल्छ। जति उँभो गयो, उति अग्ला र विशाल पहाड। मौसम पनि नेपालको जस्तै (२५ देखि ३० डिग्री सेल्सियस आसपास)। नुचियाङ नदी फाँटमा पोल्ने गर्मी हुँदा जति उकालो पहाडतिर चढ्यो, त्यति शीतल र आनन्द।

सम्बन्धित सामग्री

फरक के छ भने सीपीसी सेक्रेटरी वाङले बितेका ११ वर्षमा यस गाउँको स्वरूप नै फेरिदिएका छन्। उता नेपालमा यस्ता पहाडी गाउँ बसाइँसराइले रित्तिँदै र धानखेत तथा बारी बाँझिदै गएका बेला चीनले गाउँलाई नै आर्थिक समृद्धिको केन्द्र बनाइरहेको देखिन्छ।

गाउँका हरेक घरमा युवा बसिरहेकै छन्। उनीहरू खेतीपातीमै रमाएका छन्। पढ्न चाहनेका लागि सीपीसी गाउँ कमिटीले विश्वविद्यालयसम्मको ढोका खोलिदिएको छ। सेक्रेटरी वाङका छोराछोरी उनीसँगै सिन्छाईमै छन्। जवान भइसकेका छोराले बुवासहित परिवारलाई गाउँमै बसेर साथ दिइरहेका छन्। उच्च शिक्षा पूरा गरिसकेका उनी अहिले गाउँलाई समृद्ध बनाउने बुवाको योजनालाई साथ दिँदै व्यापार पनि सम्हालिरहेका छन्।

कफीसँगै स्थानीय जातको रुख बदाम, तरकारी खेती, कृषि पर्यटन, केरा खेती पनि यो गाउँका थप परिचय हुन्। 

११ वर्षअघि वाङ यो गाउँमा छिरेर सीपीसीको नेतृत्व सम्हाल्दा विकासका पूर्वाधार केही पनि थिएनन्। उनका लागि सामुन्नेको गाओलिन्चोन्ङसँगै चुनौतीको अग्लो पहाड खडा भएको थियो। उतिबेलैदेखि राष्ट्रपति सी चिनफिङले गाउँलाई सहरसँग जोड्ने अभियानअन्तर्गत विशाल सडक संरचना निर्माणका लागि एउटा युद्ध नै छेडेका थिए।

उनी सीपीसीको सबैभन्दा तल्लो तहको सेक्रेटरीका रुपमा सिन्छाईको कमान्ड सम्हालेका वाङले सुरुमा सार्वजनिक सुरक्षा, पूर्वाधार विकास, शिक्षा र औद्योगिकीकरणको अभावलाई मुख्य चुनौतीका रुपमा लिएका थिए। तर, यी चुनौती उनका लागि गाउँको परिचय फेर्ने अवसर पनि बने।

भीरमुनिको सिन्छाईलाई कफी गाउँका रूपमा स्थापित गर्न वाङको नेतृत्वमा सीपीसीले स्थानीयलाई आश्वस्त पार्दै विकासका काम अघि बढायो। सडक, बिजुली, खानेपानी, इन्टरनेट र विद्यालयमा सीपीसीले लगानीको योजना बनायो।

‘सुरुमा हामीमाझ दोहोरो चुनौती थिए। एकातिर गाउँलेलाई विश्वासमा लिएर विकास योजना अघि बढाउनु थियो’, वाङले भने, ‘अर्कातिर सिन्छाईलाई कफीको नमुना गाउँका रूपमा स्थापित गर्न सरकारलाई पनि मनाउनु जरुरी थियो। गाउँ विकासको तत्कालीन र दीर्घकालीन दुवै योजना बनाएर अघि बढ्दा सरकारले पनि धमाधम लगानी बढाइदियो। गाउँले पनि हामीलाई साथ दिन जुटे।’

करिब एक दशकको संघर्षपूर्ण यात्रापछि अहिले यस गाउँको १ हजार ६ सय हेक्टरमा कफी खेती भइरहेको छ। कफी अरेबिकाको बिन उत्पादनमा यो गाउँ चीनमै नमुना भइसकेको छ।

अहिले यहाँको कफी खेती स्याहार्न दैनिक १ हजार गाउँले लागिपर्छन्। सरकारको निरन्तर लगानीकै कारण गाउँका बासिन्दाको आम्दानी पनि तीव्र गतिमा बढेको छ।

‘कुनै बेला यस गाउँका बासिन्दाको वार्षिक औसत आम्दानी ३ हजार आरएमबी (करिब ५५ हजार रूपैयाँ) पनि थिएन। धेरै मानिस गरिबीसँग जुधिरहेका थिए। तर, केही वर्षमै त्यो आम्दानी बढेर ३० हजार आरएमबी पुग्यो’, वाङले सुनाए, ‘अहिले आम्दानीको दर उच्च गतिले बढिरहेको छ। गाउँलेको परिचय पनि फेरिएको छ।’

यस गाउँमा विभिन्न ९ वटा जातीय समूह छन्। आदिवासीदेखि अन्य जातिको पनि बसोबास छ। चारवटा साना टोल समूहमा विभाजित गाउँलेलाई सीपीसीले सातवटा स्थानीय सहकारीमार्फत् संगठित गरेको छ। कफीसहितको खेतीका लागि सहकारीले पुँजी परिचालनको काम गर्ने गरेको छ। 

कफी खेतीबाटै यहाँका बासिन्दाले गत वर्ष १२ करोड आरएमबी आम्दानी गर्न सफल भए। त्यो आम्दानी अझै बढ्दै जाने सेक्रेटरी वाङले बताए। तर, यस वर्ष कफीको मूल्यमा गिरावट आएकाले कृषकलाई केही तनाव छ। तर उनीहरू बजार मूल्य बढ्ने प्रतीक्षामा खेती स्याहारिरहेका छन्।

सिन्छाई पार्टीका गाउँ सेक्रेटरी वाङ चियावेईका अनुसार अहिले यस क्षेत्रमा औद्योगिक रूपान्तरण र उन्नयनको अभियान चलाइएको छ। गाउँले कफी उत्पादनलाई विकसित कृषि पर्यटन र जातीय पर्यटनसँग जोड्ने प्रयासमा छन्। 

सांस्कृतिक गतिविधि र अनेक अभियानमार्फत् कफी खपतलाई बढावा दिइँदै छ। यहाँ सन् २०१६ देखि भाओसान नगरपालिकाले भाओसान कफी पर्यटन र सांस्कृतिक महोत्सव गर्दै आएको छ। कफी बगैंचा परिक्रमा र साइक्लिङ टुरका प्याकेज चलाइएको छ।

 

 

सीपीसीका महासचिव सीले १९ औँ र २० औँ राष्ट्रिय महाधिवेशनमा देशको ग्रामीण क्षेत्रलाई पुनर्जीवित गर्न विभिन्न ६ बुँदे घोषणा गरेको पनि वाङले सुनाए। त्यही घोषणाअनुसार अहिले चीनका गाउँलाई सहरसँग जोडेर समृद्धिको यात्रा अघि बढाइएको उनको भनाइ छ।

गाउँलाई पुनर्जीवित गर्दै समृद्धि अघि बढाउने, औद्योगिकरणलाई तीव्र पारिने, कफी खेती विकासलाई कृषिको मुख्य मार्गदर्शन बनाइने, खेतीका लागि युवा तथा शिक्षित समूहलाई विभिन्न प्रशिक्षण चलाउन र गाउँलाई विकासको मार्गमा जोड्ने सीको घोषणा छ। 

सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएको छ। त्यसपछि उसले कफी खेती विस्तारलाई अघि बढाएको छ। यो गाउँलाई कृषि पर्यटनको केन्द्र बनाउन उकालो पहाडतर्फ खेती बिस्तार गर्दै लगिएको छ। खेती बिस्तार गर्दै लगिएको पहाडी टुप्पोबाट हेर्दा नुइच्याङ उपत्यका झनै मनमोहक देखिन्छ।

सीपीसी गाउँ कमिटीले कफी खेती विस्तारसँगै मार्केटिङका लागि नयाँनयाँ उपाय पनि निकालिरहेको छ। सेक्रेटरी वाङका अनुसार परम्परागत बजारीकरण विधिसँगै अब अनलाइन मार्केटिङको उपयोग गरिँदै छ।

स्थानीय सरकारले अनलाइन मार्केटिङबाट कफी बेचेर गत वर्ष मात्रै एक करोड आरएमबी आम्दानी गर्न सफल भएको उनले सुनाए। स्थानीय सरकारले कृषकलाई कुनै बोझ बोकाएको छैन। उनीहरूलाई ढुक्कसँग खेतीमा केन्द्रित हुन भनेको छ। 

कफीका दाना टिपेपछि प्रशोधनका लागि सरकारले नै सहकारीमार्फत् कृषकलाई मेसिन दिएको छ। प्रशोधनका लागि कुनै शुल्क तिर्नुपर्दैन। सरकारले सबै खर्च ब्यहोरेर मेसिन किनिदिएकाले कृषकले अतिरिक्त लगानी नगरी कफी बिन तयार पार्न सकेका छन्। अर्कातिर कफी उद्यम गर्ने कृषकलाई सरकारले नि:शुल्क तालिम पनि दिइरहेको छ।

 

 

अधिकांश स्थानीयलाई कृषिमा लगाएको सिन्छाईले सडक सञ्जाल विस्तार भएसँगै गाउँका ५१ युवालाई विश्वविद्यालयको शिक्षा पढाइसकेको छ। सीपीसीको स्थानीय कमिटीले खुनमिङदेखि बेइजिङसम्म पठाएर ती युवालाई विश्वविद्यालय शिक्षा पढाउन सफल भएको वाङले बताए। कफीको नमुना गाउँले चीनका अन्य प्रान्तमा पनि कफी प्राविधिकलाई पठाएर प्रशिक्षण दिने गरेको छ। त्यसका लागि ३ सय बढी प्राविधिक शिक्षा तयार छन्।

कफीको कथा
चीनको युन्नान प्रान्तमा देशकै सबैभन्दा धेरै कफी खेती हुन्छ। देशको ९८ भन्दा धेरै प्रतिशत कफी खेती युन्नानमा हुन्छ। युन्नानको पनि भाओसान सहर क्षेत्रमा पर्ने नुइच्याङ नदी बेसिन क्षेत्र कफीका लागि प्रसिद्ध छ।

विश्वमा प्रसिद्ध मानिएको कफी अरेबिकाको माग बढ्दो छ। कफी अरेबिकाकै कारण विश्वमञ्चको नक्सामा भाओसान क्षेत्र समेटिन थालेको छ। भाओसान क्षेत्रको कफी आफ्नो मौलिक र स्थानीय स्वादका कारण चर्चित हुँदै गएको छ। 

सीपीसीका सिन्छाई गाउँ सेक्रेटरी वाङले सन् २०१४ देखि कफीका परिकार भोजमा पनि प्रयोग हुन थालेको बताए। उनका अनुसार कफीको तरकारी, अचार, वाइनदेखि विशेष परिकारसमेत बनाइन्छ। 

 

 

चीनमा कफीको इतिहास करिब १२० वर्ष लामो छ। प्रथम र दोस्रो विश्वयुद्धसँगै म्यानमार हुँदै कफी खेती चीनमा फैलिएको बताइन्छ।

सबैभन्दा पहिले सन् १८९२ तिर अलफ्रेड लियटार्ड नामका एकजना मिसिनरीले हालको युन्नान प्रान्तमै रहेको बिनचुआन काउन्टीस्थित डालीमा केही कफीका दाना ल्याएको चिनियाँ कफी विज्ञ हुवाङ चियाक्सियोङ बताउँछिन्।

उनले यात्राका क्रममा केही गाउँमा कफीका ती दानालाई रोपेर गएका थिए। त्यही कफी अहिले युन्नान प्रान्तकै परिचय बनेको छ। अहिले युन्नानमा मात्रै १ लाख ३० हजार हेक्टर जमिनमा कफी खेती हुन्छ। वार्षिक ४ लाख टन उत्पादन हुन्छ। 

सन् २०१८ मा युन्नान प्रान्तीय सरकारले कफीसहितका हरियो सागसब्जीका खानालाई बढावा दिने परियोजना सुरु गरेदेखि कफी उत्पादनमा पर्याप्त जीवन्तता थपिएको वाङको अनुभव छ। उनका अनुसार कफी खेती, कफी बिन संकलन, प्रशोधन र बजारीकरणलाई समेटेर व्यवस्थित औद्योगिक परियोजना स्थापना गरिएको छ। अब, स्थानीय सरकारहरू, कफी खेती गर्ने परिवारहरू साथै निजी क्षेत्रले कफीबाट अझै राम्रो आम्दानी गर्ने उनले सुनाए। 

साभार:नेपालखबर

मङ्गलबार १४ कात्तिक २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया