×

हलो छाडेर ट्र्याक्टर किन्ने बढे, मल र बिउ नपाइने चिन्ता पनि बढ्यो

images

राष्ट्रिय तथ्यांक कार्यालयले कृषि गणना गर्ने क्रममा तीन लाख ३० हजार परिवारसँगबाट सरकारका लागि प्रमुख तीन सुझाव लिएको छ।

प्रत्येक दस वर्षमा गरिने कृषि गणनामा योपटक 'तपाईं सरकारलाई के सुझाव दिन चाहनुहुन्छ' भनेर प्रश्न गरिएको थियो।

एक परिवारबाट तीनवटासम्म सुझाव लिइएको छ।

यसअघि एक लाख २५ हजार परिवारमा मात्रै सर्वेक्षण गरिएकामा अहिले करिब तीन गुणाले वृद्धि गरिएको हो।

धेरै सुझाव के कामका लागि आयो त, पहिले हेरौं।

Screenshot-2023-09-07-160716-1694086004.png

कृषकको प्रमुख समस्याहरू समयमा मल बिउ नपाएको, सिँचाइ व्यवस्था नभएको र कृषि कार्यका लागि तालिम व्यवस्था नभएको पाइएको छ।

५७ प्रतिशतले समयमै मल बिउ पाउनुपर्ने माग राखेका छन्। ४८ प्रतिशतले सिँचाइ व्यवस्था हुनुपर्ने र २७ प्रतिशतले कृषि कार्यका लागि तालिम व्यवस्था हुनुपर्ने भनेका छन्। कृषि गर्न शून्य वा सस्तो ब्याजदरमा ऋण दिनुपर्ने सर्त राख्ने किसानको संख्या भने ११ प्रतिशत मात्रै छ।

किसानहरू बरू ऋणको अपेक्षा कम गरिरहेका छन् तर मल र बिउको उपलब्धतामा सुनिश्चितता हुन सकेका छैनन्। कृषि कर्म गर्न ऋण लिने किसान परिवारको संख्या समेत घटेको छ। 

२०६८ सालमा २१ प्रतिशत कृषक परिवारले कृषि कार्यका लागि ऋण लिएका थिए। अहिले सबै पालिकाहरूका वित्तीय पहुँच पुगेको अवस्थामा समेत जम्मा ११ प्रतिशतले ऋण लिएको पाइएको छ। त्यो वर्ष आठ लाख ३५ हजार ९२१ जनाले कृषि प्रयोजनका लागि ऋण लिएकामा अहिले घटेर ४ लाख ८३ हजार २०८ मा झरेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले संख्यागत रूपमा ऋण लिएको वा नलिएको तथ्यांक निकाले पनि बैंक तथा वित्तीय संस्थाको तथ्यांकअनुसार कृषि क्षेत्रमा पछिल्लो दस वर्षमा ऋण तेब्बरले विस्तार भएको देखिएको छ। यसले थेरै व्यक्तिले धेरै ऋण उपयोग गरेको देखिन्छ। 

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीका अनुसार अहिले किसानहरूले ऋण चाहियो वा पुगेन, ब्याज बढी भयो वा कम हुनुपर्‍यो भन्ने मागभन्दा बढी मल र बिउको सुनिश्‍चितता खोजेका छन्।

'ऋण चाहिएन, ब्याज महँगो भए पनि केही छैन नभन्ने नै त होइन। तर उनीहरूको प्रमुख चिन्ता मल र बिउ नपाइएकोमा छ। यसकारण सरकारी आगामी योजना त्यतातर्फ केन्द्रित गर्नुपर्ने देखिएको छ,' कार्कीले भने।

कृषिको फल र पशुपन्छीको संख्या घटेको जस्ता तथ्यांक कृषि गणनामा देखिए पनि उन्नत जातको पशु तथा चौपायाको संख्या, उत्पादकत्व र कृषिमा आधुनिक यन्त्र प्रयोग गर्नेको संख्या बढेको देखिएको छ। यसले आगामी दिनमा कृषि उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ बताउँछन्।

सरकारले १६ औं पञ्चवर्षीय योजना बनाउने तयारी गरिरहेका समयमा यो गणना उपयोगी हुने उनले बताए।

'हामीले हाम्रो अर्थतन्त्र विस्तारका लागि कृषिलाई अझै व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्ने छ। गणनाले कृषि प्रवृत्ति र देखिएका समस्यालाई समेट्दै योजना निर्माणमा सहयोग पुर्‍याउने छ,' श्रेष्ठले भने।

मुख्य–मुख्य कृषि सामग्री प्रयोग गर्ने कृषकको प्रतिशत

krishi-1694099575.jpg

२०६८ सालमा २८ प्रतिशत कृषि परिवारले हलो प्रयोग गर्नेमा अहिले १७ प्रतिशतमा सीमित भएको छ। त्यस्तै आठ लाख ४५ हजार अर्थात् २२ प्रतिशत किसानले कृषि कार्यमा ट्र्याक्टर प्रयोग गरेका थिए।

२०७८ मा १६ लाख ३९ हजार कृषकले ट्र्याक्टर प्रयोग गरेको पाइएको छ। 

२०६८ सालमा कृषक परिवारसँग भएको ट्र्याक्टर संख्या ३७ हजार थियो। अहिले बढेर ५८ हजार पुगेको छ।

त्यस्तै अहिले ४ लाख ७१ हजार अर्थात् ११ प्रतिशत कृषक परिवारले पावर ट्रिलर, मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ। २०६८ सालमा यो संख्या ७६ हजार मात्रै थियो।

बाली झाट्ने औजार प्रयोग गर्ने कृषक परिवारको संख्या पहिले आठ लाख तीन हजार थियो। अहिले ११ लाख ७५ हजार पुगेको छ।

कृषि गणना २०७८ अनुसार ६ लाख ९१ हजार कृषक परिवारले पम्पिङ सेट वा मोटर प्रयोग गरेको पाइएको छ। 

त्यस्तै ११ लाख ५१ हजार कृषक परिवारले स्पेयर प्रयोग गरेको देखाएको छ। 

२०६८ सालमा ५ लाख ६८ हजार कृषकले पम्पिङ सेट प्रयोग गरेका थिए। ५ लाख ७४ हजार किसानले स्पेयर प्रयोग गरेका थिए।

कृषिबाट लाभ उठाउँदै

किसानहरू छिटो प्रतिफल दिने र लामो समय लाभ उठाउन सकिने क्षेत्रमा बढी केन्द्रित भएको देखिएको छ।

पछिल्ला दस वर्षमा गोरूको संख्या १३ लाख ३८ हजारले घटेको छ। तर उन्नत गाईगोरूको संख्या ४२ प्रतिशतले वृद्धि भएको तथ्यांक कार्यालयले जनाएको छ। 

त्यस्तै उन्नत राँगाभैंसीको संख्या १२ प्रतिशतले वृद्धि भएको छ।

प्रमुख पशुको संख्यामा २०६८ र २०७८ मा देखिएको अन्तर

krishi-1694099971.jpg

कृषिमा लागेर पनि आम्दानीको मुख्य स्रोत अन्य व्यवसाय देखिने परिवारको संख्या बढेको छ।

२०६८ को गणनामा कृषिको रूपमा गणना गरिएका ८३ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि थियो। अहिले घटेर ७० प्रतिशतमा झरेको छ।

त्यस्तै कृषि कार्यबाहेक अन्य आर्थिक कार्यमा लाग्ने परिवारको संख्या १६ प्रतिशत थियो। अहिले बढेर २६ प्रतिशत पुगेको छ।

साभार:सेतोपाटी

बुधबार १० असोज २०८० ०५:५५ AM मा प्रकाशित

प्रतिक्रिया